कात्तिकमा घट्यो घरजग्गाको कारोबार

देशभर कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागको तथ्याङ्क अनुसार असोजको तुलनामा कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ । 

असोजको तुलनामा कात्तिकमा देशभर घरजग्गा कारोबार ३४ प्रतिशतले कमी आएको छ । असोज महिनामा देशभर ३९ हजार ८८१ को सङ्ख्यामा घरजग्गा कारोबार भए पनि कात्तिक महिनामा घटेर २६ हजार ४६ सङ्ख्यामा घरजग्गा कारोबार भएको छ । 

गत वर्षको कात्तिकको तुलनामा यस वर्षको कात्तिकमा भने समग्रमा ६ प्रतिशतले मात्र घरजग्गा कारोबारमा कमी आएको हो । गत वर्षको कात्तिक महिनामा २७ हजार ९३९ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अधिकारी बलराम काफ्लेका अनुसार कात्तिक महिनामा चाडपर्वको समय भएका कारण घरजग्गा कारोबार बढ्न नसकेको हो । 

उहाँले भन्नुभयो, “कात्तिक महिना चाडपर्वको महिना भएका कारण घरजग्गा कारोबार बढ्न नसकेको हो । अब मङ्सिर महिनामा बढ्छ ।” उहाँका अनुसार गत आर्थिक वर्षको तथ्याङ्कमा पनि मङ्सिरदेखि चैत्रसम्मको समयमा घरजग्गाको कारोबार बढ्दै गएको थियो । घरजग्गाको कारोबार घटेसँगै राजस्व सङ्कलनमा समेत कमी आएको आएको छ । 

कात्तिकमा घरजग्गा कारोबारको सेवा कर, रजिस्ट्रेसन दस्तुर र पुँजीगत समेत २ अर्ब १६ करोड ३१ लाख ६१ हजार राजस्व सङ्कलन भएको छ ।

जसमध्ये सेवा कर २० करोड १५ लाख ३५ हजार रजिस्ट्रेसन दस्तुर १ अर्ब ३७ करोड ८ लाख ४४ हजार, पुँजीगत लाभकर ७७ करोड ९ लाख १६ हजार लाभकर सङ्कलन भएको विभागको तथ्याङ्क छ । कात्तिकमा मात्रै सरकारले २० करोड २२ लाख ९० हजार राजस्व छुट दिएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब २० करोड ६१ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । असोजमा ४ अर्ब ८ करोड ६६ लाख २९ हजार राजस्व सङ्कलन भएकोमा भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४७ हजार र साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा सकारले घरजग्गाको कारोबारबाट ११ अर्ब ८७ करोड ७१ लाख २२ हजार राजस्व सङ्कलन गरेको थियो । कात्तिकमा मात्रै ३ अर्ब ७६ लाख २६ हजार राजस्व सङ्कलन भएको थियो । असोजमा २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार राजस्व सङ्कलन हुँदा भदौमा ३ अर्ब ५६ करोड २९ लाख ७ हजार र साउनमा २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार राजस्व सङ्कलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *