नारायणहिटी दरबार सङ्ग्रहालयपरिसरमा रहेको बगैँचा पुनर्निर्माण हुने भएको छ । बगैँचा मासेर रेस्टुरेन्ट सञ्चालन गर्ने निर्णय खारेज भएसँगै बगैँचा पुनर्जीवित हुन लागेको हो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा समन्वय सञ्चालक समितिले तत्कालीन राजा महेन्द्रले निर्माण गरेको बगैँचा पुरानै स्वरूपमा निर्माण गर्ने जनाएको छ ।

सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङले बगैँचालाई थप आकर्षक बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो । “त्यत्तिकै छोड्ने हो भने फेरि बेवारिसे हुन्छ, झारपात उम्रिन थाल्छ,” उहाँले भन्नुभयो, “त्यही भएकाले बगैँचालाई पुनर्निर्माण गर्ने तयारी भएको हो ।” नारायणहिटीपरिसरको बगैँचा र बङ्करसमेत मासेर बतास समूहलाई रेस्टुरेन्ट बनाउन दिइएको समाचारपछि बगैँचा र बङ्करप्रति आमचासो बढेको छ ।

त्यही भएर दरबारभित्रको ‘बगैँचा र बङ्कर’को पुनर्निर्माणले थप आकर्षित हुने अपेक्षा सङ्ग्रहालयको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दरबारभित्रको ऐतिहासिक ‘बगैँचा र बङ्कर’ मासेर रेस्टुरेन्ट निर्माणकार्यमा रोक लगाई निर्माणाधीन संरचना तत्काल भत्काउन निर्देशन दिनुभएको थियो ।

त्यसअघि मन्त्रालयका सहसचिव होमकुमार लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहाल र रेस्टुरेन्ट निर्माणकार्यमा संलग्न बतास समूहलाई दोषी देखाउँदै कानुनी कारबाहीका लागि सिफारिस गरेको हो ।

बतास समूहले ‘क्यान्टिन तथा कफिसप’ सञ्चालनका नाममा बगैँचालगायतका संरचना मासेर १४ रोपनीमा रेस्टुरेन्टका लागि नयाँ संरचना निर्माण गरेपछि मन्त्रालयले निर्माणकार्य रोक्नका साथै संरचना भत्काउन निर्देशन दिएको थियो । दरबारको बगैँचा निर्माणका लागि पर्यटन सचिव एवं सञ्चालक समितिका अध्यक्ष महेश्वर न्यौपानेले समेत चासो लिनुभएको छ ।

सचिव न्यौपानेसँग बगैँचामा थुपारिएको निर्माणजन्य फोहोर उठाउने विषयमा छलफल भएको सङ्ग्रहालयका उपसचिव अमृत महर्जनले बताउनुभयो । “निर्माणजन्य सामग्री बगैँचामै थुपारिएको छ, उठाउनका लागि पहल गर्दा बतास समूह सम्पर्कमै आएको छैन,” उपसचिव महर्जनले भन्नुभयो, “त्यहाँको फोहोर उठेपछि बगैँचा, बङ्कर र रातोघरको सम्बन्धमा थप छलफल हुनेछ । ”

पर्यटनमन्त्री प्रेमबहादुर आलेले पनि केही दिनअघिको नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकन तथा भ्रमणक्रममा सङ्ग्रहालयको विकास विस्तार, मर्मत–सम्भार, सुरक्षा र संरक्षणका लागि थप बजेट व्यवस्था गरिने प्रतिबद्धता गर्नुभएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *