गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिलाई गीत, सङ्गीत, कला र साहित्यका माध्यमबाट समेत उत्प्रेरित गरिने भएको छ ।
पर्यटकीय नगरी चितवनको नारायणीकिनार हुने महाधिवेशन उद्घाटन र सौराहामा हुने बन्दसत्रमा साङ्गीतिक कार्यक्रम प्रस्तुतिका लागि कलाकारले तयारी गरिरहेका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष खगेन्द्र राईका अनुसार, महासङ्घ आबद्ध सङ्गठनलाई परिचालन गरी महाधिवेशनलाई गीत, सङ्गीत, कला र साहित्यले सिँगार्ने तयारी थालिएको छ । महाधिवेशनको उद्घाटन मङ्सिर १० गते नारायणीकिनारमा र मङ्सिर ११ गतेदेखि बन्दसत्र सौराहामा गर्ने कार्यक्रम रहेको छ ।
धार्मिक हिसाबले समेत पवित्र नारायणी नदीकिनारमा बनाइएको मञ्चमा नेपाली लोकबाजासहितको सामूूहिक लोक धुुन अर्थात्
‘लोक अर्केस्ट्रा’ प्रस्तुत गर्ने तयारी महासङ्घको छ । मादल, मुर्चुङ्गा, बिनायो, सारङ्गी, ढोलक, हुड्केलगायत विभिन्न जातजातिका बाजा समेटेर ७२ जना कलाकारले
‘लोक अर्केस्ट्रा’ प्रस्तुत गर्नेछन् । जसका लागि मञ्चको समेत विशेष व्यवस्थापन गरिएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्षलाई साङ्केतिक रूपमा विम्बित गर्दै ७२ जना कलाकारले
‘अर्केस्ट्रा’ प्रस्तुत गर्न लागेका हुन् ।
कार्यक्रममा शिलाबहादुर मोक्तान, बद्री पङ्गेनी, वैकुण्ठ महत, साजन राई, रुविन गन्धर्व, दुर्गा परियार, राजा राजेन्द्रलगायत कलाकारको प्रस्तुति रहने जनाइएको छ । साङ्गीतिक प्रस्तुतिका लागि प्राज्ञ अशोक राईले संयोजन गरिरहनुभएको छ ।
त्यस्तै, सौराहामा चित्रकला प्रदर्शनीसमेतको तयारी थालिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेतृत्वलाई नेपाली लोक तथा आधुनिक कलामार्फत नेपालको कम्युनिस्ट आन्दोलनका विभिन्न आरोह, अवरोहलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, मूर्तिकला विभागका प्रमुख प्राज्ञ लालकाजी लामाका अनुसार, सौराहामा मूर्तिकला कार्यशाला भइरहेको छ । कलाकारले अमूर्त ढुङ्गालाई मूर्त रूप दिने प्रयत्न गरिरहेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *