अशोक अधिकारी

काठमाडौँ, मङ्सिर ७ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार सुरु भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा अधिकांश ठाउँमा मतदानबाटै नयाँ नेतृत्व चयन हुने भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनले मतदानबाटै नेतृत्व छान्ने गरी मतदान सुरु भएको जानकारी दिनुभयो ।

देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको बताउँदै उहाँले ९० प्रतिशतभन्दा बढी क्षेत्रमा मतदान भएको बताउनुभयो ।

संयोजक यादवले भन्नुभयो, “सोमबार ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु भएको छ, काठमाडौँ क्षेत्र नं. १ मा मङ्गलबार अधिवेशन हुनेछ ।” अधिवेशन भइरहेका जिल्लाबाट नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय नेतृत्व चयन गर्नका लागि महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जानकारी उहाँले दिनुभयो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार यो समाचार तयार पार्दासम्म १४८ मध्ये आधाजति प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति छान्नका लागि मतदान भइरहेको छ ।

उहाँले भन्नुभयो, “कहीँ मतदान अन्तिम चरणमा पुगेको छ, कतै मतदान सुरु भएको छ, कतै मङ्गलबार मात्रै मतदान सुरु हुने जानकारी केन्द्रीय निर्वाचन समितिलाई आएको छ ।” यसैबीच जाजरकोटमा नेपाली काँग्रेसको वडादेखि जिल्लासम्मको अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । जाजरकोट काँग्रेसका नेता एवं निवर्तमान सभापति दीपकजङ्ग शाहका अनुसार जिल्ला सभापतिमा वेदराज सिंह निर्विरोध हुनुभएको छ । यसैगरी काठमाडौँका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतदानबाटै नेतृत्व चयन हुँदै छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *