अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आंशिक तथ्यांक अनुसार नेपाल उद्गम भएर अष्ट्रेलियामा बसोबास गर्नेको संख्या १ लाख २२ हजार ५ सय ६ जना रहेको छ।
सोमबार राति सार्वजनिक भएको तथ्याङ्क अनुसार घरमा अंग्रेजीपछि नेपाली भाषा बोलिनेको संख्या १ लाख ३३ हजार ६८ रहेको छ।
त्यसमध्ये अधिकांश न्यु साउथ वेल्समा छन्। यहाँ ६८ हजार १ सय ४८ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
अष्ट्रेलियामा पहिलो पटक ५० प्रतिशतभन्दा बढी बासिन्दा विदेशमा जन्मेका वा आप्रवासी रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
पछिल्लो ५० वर्षमा देशको जनसंख्या दोब्बर भएको छ। सन् २०१७ बाट १ मिलियन भन्दा बढी नयाँ बासिन्दा थपिएको तथ्याङ्क सार्वजनिक भएको छ।
सन् २०१६ र २०२१ को जनगणनाको बीचमा अस्ट्रेलियाको कुल जनसंख्या २२.२ मिलियन अर्थात ८.६ प्रतिशतले वृद्धि भएको २५.५ मिलियन पुगेको छ।
पछिल्लो जनगणना अनुसार भारतले चीन र न्यूजील्याण्डलाई पछि पार्दै आफ्नो संख्या बढाएको छ। अष्ट्रेलियामा बसोबास गर्ने आप्रवासीमध्ये भारतीयहरू सबैभन्दा बढी छन्।
सन् २०१६ को जनगणना र २०२१ को जनगणनाको बीचमा भारतमा जन्मेका करिब २ लाख २० हजार हजार मानिसहरू अष्ट्रेलियाबासी भएका छन्। यस्तै पछिल्लो पाँच वर्षमा अष्ट्रेलियाबासी भएको दोस्रो ठूलो संख्या नेपालीको छ।
